१२ वैशाख, काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।
यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।
कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।