काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी सुरु भइसकेको थियो । कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट सञ्चालन गरिरहेको आरोप लगाउने गरेका थिए । केही हदसम्म त्यो सत्यपनि थियो ।
निजी निवास सर्दै गर्दा पनि उनका राजनीतिक सल्लाहकार लालबाबुप्रसाद यादवले अवकाशपछि राष्ट्रपति भण्डारीले राज्यबाट पाइने सेवा–सुविधा नलिने निर्णय गरिसकेकाले समय र परिस्थितिअनुसार राजनीतिमा फर्किने निर्णय गर्न सक्ने बताएका थिए । तर भण्डारीले सबैकुरा परिस्थितिले निर्धारण गर्ने बताउँदै आएकी छिन् ।
सोमबारको विशेष सम्मान मात्र होइन भण्डारीलाई राजनीतिमा ल्याउने प्रशस्त आधारहरू तय हुँदै गएका छन् । आउँदो जेठमा हुने राष्ट्रिय महिला भेलामा भण्डारीलाई प्रमुख अतिथि बनाउने तयारी भइरहेको एमाले निकट स्रोतले बतायो । १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला भण्डारीको प्रमुख आतिथ्यमा गर्ने निर्णय ५ वैशाखमै बसेको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको बताइन्छ ।
एमालेभित्रको ओली खेमा पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन जबरजस्त प्रयास गरिरहेको बुझिन्छ । ओलीपछि पार्टी नेतृत्व गर्ने उपयुक्त पात्रको खडेरी देखिएकाले भण्डारीलाई सक्रिय गराउने रणनीतिमा छ ।
हुन २०७९ फागुनमा शीतल निवास छाडेर चपली सरेकी भण्डारी पार्टीका आधिकारिक कार्यक्रममा सहभागी भएकी थिइनन् । सोमबारको कार्यक्रममा सम्मान ग्रहण गर्नुलाई राजनीतिक विश्लेषकहरुले राजनीतिमा आउने नभइ सम्मानीत पोजिसनमा बस्नुपर्ने सन्देश दिन खोजेको भनेर बुझेका छन् । राजनीतिमा फर्किने कि नफर्किने भण्डारीको इच्छा, जनताको चाहना र आवश्यकतालगायतको परिस्थितिले निर्धारण गर्ने राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।
भण्डारीको इच्छा पनि राजनीति नभइ सामाजिक कार्यक्रमा सक्रिय हुने रहेको बुझिन्छ । मदन भण्डारी फाउन्डेसनको संरक्षक बनेर त्यसलाई थप सामाजिक काममा क्रियाशील बनाउँदै जनताको बीचमा पुग्ने भण्डारीको इच्छा रहेको उनी निकटका व्यक्तिहरु बताउने गर्छन ।
तर जनवर्गीय संगठनकै कार्यक्रममा निम्ताउनुलाई राजनीतिमा स्पेस जीवित छ भनेर बुझ्नेहरु पनि प्रशस्त छन् । पूर्वराष्ट्रपति भण्डारीको हालको उमेर, मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतका कारण पनि उनलाई सक्रिय राजनीतिमा आउने आधारहरू कार्यकर्ताले देख्ने गरेका छन् ।
सक्रिय राजनीतिमा आउने आधारहरुका रुपमा भण्डारीका विगतका दिनहरुले पनि प्रष्ट पार्ने गरेको छ । किनकी पार्टीको नवौं राष्ट्रिय महाधिवेशनपछि तत्कालीन अध्यक्ष ओलीपछिको शक्तिशाली उपाध्यक्षका रुपमा भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूह निर्माणको कसरत गरेकी थिइन ।
उनले १०औं महाधिवेशनलाई लक्षित गरेर अलग्गै समूह खडा गर्ने प्रशस्त प्रयास गरेकी थिइन । तर ओलीको चाहना, परामर्श र प्रस्तावमा दुवैपटक राष्ट्रपति बनेपछि उनले राजनीतिक बहसलाई विट मारेकी थिइन । तर कार्यकाल समाप्त भएर निजी निवास प्रवेश गर्नुअघि धेरै कार्यकर्ताले सक्रिय राजनीतिमा आउन जोडबल गरिरहेका थिए र छन् । -नेपाल न्युज बैंक