रघुगंगा चिमखोलाको घैराबारीमा ट्रिपर दुर्घटना एक जनाको मृत्यु तीन जना घाइते

पर्बत, जलजला, ८ बैशाख । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोला स्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज विहान करिब ९ बजे तिर निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षिय बीरबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार, घाइते हुनेहरुमा रुपन्देही जिल्ला देविनगरका अन्दाजी ४० वर्षिय चालक कमल श्रेष्ठ ,नवपरासी जिल्ला त्रिवेणी गाउँपालिका–६,का अन्दाजी २० वर्षिय सहचालक राहुलसिंह ठकुरी र रामेछापका २७ वर्षिय भुवन कार्की रहनुभएको छ ।

मृतक चौधरी व्यक्ति सवारी साधन र निर्माण उपकरणहरुको मर्मत गर्ने मिस्त्री काम गर्नुहुन्थ्यो । मृतक चौधरीको शव पोष्टमार्टमको लागि बेनी अस्पतालमा ल्याइदैछ । घाइते चालक श्रेष्ठ र सहचालक ठकुरीलाई चिमखोला स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि हेली मार्फत पोखरा स्थित मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीको ट्रिपर तुन्दी पावर कम्पनी प्रवद्र्धक रहेको निर्माणाधिन राहुघाट मङ्गले जलविद्युत आयोजना स्थलमा सिमेन्ट ढुवानी गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो । रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीमा कार्यरत सव इन्जिनियर घाइते कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ट्रिपर सडकदेखि दुई सय मिटर भन्दा बढी तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।