बेइजिङ । चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका हुन् ।
जवाफमा गुरुङले आफूहरू कुनै पनि प्रकारको अस्थिरता र द्वन्द्व निम्त्याउन खोज्ने तत्त्वप्रति सचेत रहेको बताए । नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।
‘नेपालले स्थायित्व र पञ्चशील सिद्धान्तमा जोड दिन्छ’, उनले भने, ‘विगतदेखि नै पश्चिमा शक्तिले नेपालमा प्रभाव जमाउन प्रयास गरे पनि हाम्रो पार्टी र सरकारले चेक एण्ड ब्यालेन्स गर्छ ।’ उनले प्रचण्ड नेतृत्वको सरकारले त्यो दिशामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्ने बताए ।
यस्तै उनले आफूहरू वामपन्थी एकता र सरकारलाई निरन्तरता दिन प्रयासरत रहेको पनि बताए । ‘वामपन्थी सरकारको निरन्तरता र एकतालाई विशेष जोड दिएका छौँ,’ उनले भने । उनले नेपालमा चीनले गरेको सहयोग र बीआरआई सम्झौताप्रति ऐक्यबद्धता जनाएका थिए ।
सो अवसरमा चियानचाओले नेपाली पक्षले चीनको लगानीका लागि ठोस परियोजना प्रस्तुत नगरेकोप्रति चासो राखेका थिए ।