एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत नेपालले आज साउदी अरेबियासँग खेल

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत नेपालले आज साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

बुधबार नै समूह ‘ए’को अर्को खेलमा मलेसिया र हङकङबिच खेलिनेछ । त्यो खेल पनि बिहान ११ः४५ बजे नै सुरु हुनेछ । नेपाली टोली यसअघि नै समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ ।

जारी प्रतियोगितामा नेपाल यसअघि तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङकङ पाँचौँ स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’को लिग चरणको खेल पनि बुधबार नै सकिने छ । समूह ‘बी’को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले कम्बोडियाको र ओमानले कुवेतको सामना गर्नेछन् ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।