सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर

सरकारी वकिल कार्यालयले रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको छ।

सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध कार्यालयले अभियोगपत्र दायर (मुद्दा दर्ता) गरेको हो।

अभियोगपत्रमा सहकारीले देखाएका ऋणीहरूको सूची छ, जसमा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको नाम समावेश छ। गृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बेला उनका नाममा ऋण खडा गरेर गोरखा मिडिया नेटवर्कको आइएमई खातामा एक करोड ९६ लाख रूपैयाँ पठाइएको उल्लेख छ।

‘उक्त रकम श्री रवि लामिछानेको नाम ऋण खडा गरी २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकको खातामा सेवा शुल्क बापत चार लाख कट्टी गरी संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ।

ऋणीहरूको सूचीमा नाम भए पनि गृहमन्त्री लामिछानेलाई प्रतिवादी कायम गरिएको छैन।

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएका २८ जनामा लामिछानेको नाम नरहेको बताए।

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको इलाका प्रहरी कार्यालय बुटवलले नै लामिछानेलाई प्रतिवादी कायम गरेको थिएन।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लामिछानेका नाममा गोर्खा मिडिया प्रालिमा एक करोड ९६ लाख रूपैयाँ गएको देखिए पनि को रवि लामिछाने हो भन्ने नखुलेको बताए।

‘रवि लामिछानेका नाममा गोर्खा मिडिया प्रालिमा रकम गएको देखिन्छ। तर को रवि लामिछाने भन्ने खुलेको छैन,’ पण्डितले भने।

यसअघि सहकारी दर्ता रजिस्ट्रारको कार्यालय लुम्बिनीको प्रतिवेदनमा पनि रवि लामिछानेका नाममा एक करोड रूपैयाँ गोर्खा मिडियामा गएको उल्लेख छ।

सहकारीसम्बन्धी कानुनले सहकारी सदस्य नभएकालाई ऋण दिन नपाइने व्यवस्था गरेको छ। कम्पनीले पनि सहकारीको सदस्य बन्न र ऋण लिन नपाउने कानुनी व्यवस्था छ।

उक्त मुद्दाका २८ प्रतिवादीमा जिबी राई, ओमप्रकाश गुरूङ, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, निता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मनप्रसाद गुरूङ, पौबहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी रहेको सूचना अधिकारी मरासिनीले जानकारी दिए।

मरासिनीका अनुसार उक्त मुद्दामा मंगलबारदेखि बहस अगाडि बढ्ने छ।

प्रहरीले सहकारीको रकम हिनामिना प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरूङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ गरेका पाँच जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको जनाएको छ। सोमबार दर्ता भएको मुद्दामा त्यसैलाई आधार बनाइएको छ।

अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर एक हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय, बुटवलमा जाहेरी दर्ता गराएका छन्। सेतोपाटीबाट

suprim-mudda-(3)-1713196597.jpg

suprim-mudda-(1)-1713196596.jpg

suprim-mudda-(2)-1713196596.jpg