आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका एक जनाको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका एक जनाको निधन भएको छ।

राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको निधन भएको प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी थिए। प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनमा सहभागी उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको थियो।

‘प्रहरीले हानेको अश्रुग्यास लागेपछि उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उहाँको उपचार गरिएको थियो,’ श्रेष्ठले भने, ‘उपचारका क्रममा उहाँको सोमबार निधन भएको छ। अश्रुग्यास प्रहारपछि उहाँलाई श्वासप्रश्वास र टाउकोलगायतमा समस्या देखा परेको थियो, उहाँमा उच्च रक्तचाप पनि देखिएको थियो।’

डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने उनले बताए। सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। उक्त प्रदर्शनमा ३० जनाभन्दा बढी मानिस घाइते भएको राप्रपाले बताएको छ।