एसिसी प्रिमियर कपमा आज नेपालले कतारको सामना गर्दै

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले कतारको सामना गर्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार खेल अपराह्न ४ः१५ बजे सुरू हुनेछ ।

नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरिसकेको छ । शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो । १० टिम सहभागी प्रतियोगिताको नेपाल साविक विजेता हो ।

नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् । कपको आयोजक ओमान समूह ‘बी’ मा रहेको छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।

तेस्रो खेल नेपालले हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।