काठमाडौँ । काठमाडौँको तारेभिरमा स्कुल हिँडेकी छात्रालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
प्रेम प्रस्ताव अस्वीकार गरेपछि स्कुल हिँडेकी सुस्मालाई उनले क्रूर तवरले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त बौद्धले उनी विरुद्ध जन्मकैदको मागदावी लिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
बुधवार काठमाडौँ जिल्ला अदालतले अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो । सुस्मा बुढानीलकण्ठस्थित बुढानिलकण्ठ माविमा पढ्थिन् ।