इसराइली हवाई आक्रमणमा परी हमासका शीर्ष नेता इस्माइल हानियाहका तीन छोरा मारिएका छन्।
इसराइलले बुधबार गजामा गरेको हवाई आक्रमणमा परी हमास नेता हानियाहका तीन छोराहरू; हजेम, अमिर र मोहम्मदको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
बुधबार गजामा उनीहरू सवार गाडी इसराइलले गरेको हवाई आक्रमणमा परेको थियो। उक्त गाडीमा हानियाहका नातिनातिना र अरू केही व्यक्तिहरू पनि रहेको बताइएको छ।
उनीहरू इद-उल-फित्र मनाउन गजास्थित अल शति शरणार्थी शिविरमा आएका थिए। गजामा रहेको उनीहरूको घर गत नोभेम्बरमै इसराइलको आक्रमणबाट नष्ट भएको थियो।
इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि गजामा हवाई आक्रमणमा हमास नेताका छोराहरू मारिएको पुष्टि गरेको छ।
‘मेरा छोराहरूको रगत हाम्रा जनताका रगतभन्दा प्यारो हुन सक्दैन,’ घटनापछि हमास नेता हानियाहले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्।
इसराइलले भने हानियाहसहित हमासका सबै नेताहरुलाई आतंककारी घोषणा गरिसकेको छ।
६१ वर्षीय हानियाहका १३ छोराछोरी रहेको बताइएको छ। उनी २०१७ मा हमासका शीर्ष नेता चुनिएका थिए।