Breaking News

एमालेले वैशाख ८ र ९ गते राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गर्ने

नेकपा (एमाले) ले वैशाख ८ र ९ गते राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गर्ने भएको छ । परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा हुनेछ।

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीका लागि आइतबार एमालेको केन्द्रीय सचिवालयको बैठक बसेको थियो।

बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी गरेको गुरूङले बताए।

उनका अनुसार राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगकको अलगअलग प्रतिवेदन हुनेछन्।

ती प्रतिवेदनमाथि समूह विभाजन गरेर छलफल गराइने उनले बताए।

‘दसौं राष्ट्रिय महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी थिए। केन्द्रीय निकायका गरी करिब २५ सय सहभागी पुग्ने अनुमान गरिएको छ ।

राजनीतिक, संगठनात्मक प्रतिवेदनका अतिरिक्त परिषद् बैठकमा पार्टीले चिवाभञ्ज्याङ देखि झुलाघाटसम्म गरेको संकल्प यात्राको वृत्तचित्र प्रस्तुत गरिने उनले बताए। त्यस्तै जाजरकोट र रुकुमपश्चिमको भूकम्पमा एमालेले स्वयंसेवक परिचालन गरेर भग्नावशेष पन्छाएको थियो। त्यस्तै अस्थायी आवासहरू निर्माण गरेको थियो।

त्यसको पनि वृत्तचित्र प्रस्तुत गरिने गुरूङले बताए।

यसपटक एमालेले प्रतिनिधिहरूका लागि आवास र खानाको प्रबन्ध गरेको छैन।