उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी विषयहरूमा छलफल

सरकारका उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी विषयहरूमा महत्वपूर्ण छलफल गरेको छ । उक्त कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्रीज्यू समक्ष आगामी उपनिर्वाचन, २०८१ को तयारी र आचार संहिताको कार्यान्वयन, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा आयोगको समसामयिक विषयमा प्रस्तुति कार्यपश्चात् माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूले लोकतन्त्रमा निर्वाचनको असाधारण महत्व रहेको र आयोगको प्रयास निर्वाचनलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मर्यादित र पारदर्शी बनाउने विषयमा केन्द्रित रहेकाले आयोगले उठाएका विषयहरूमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको तथा प्रस्तुत विषयमा थप छलफल र परामर्श गरी मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताए । साथै, आगामी बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई आयोगले स्वीकृत गरेको आचार संहिता र दिइएको निर्देशन बमोजिम स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालय तथा नेपाल सरकारबाट कुनै कसर बाँकी नरहने गरी सहयोग हुने प्रतिवद्धता व्यक्त समेत गरेका थिए ।

आयोगको तर्फबाट प्रस्तुतीकरण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरू र राष्ट्रिय महत्वको विषयमा जनमत संग्रहसमेतको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवं स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्दै प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पारे ।

उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका माननीय आयुक्तज्यूहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृहमन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।