काठमाडौँ, २३ चैत । काठमाडौँ महानगरपालिका (कामपा)– १४ ले महिला वर्गको आर्थिक सशक्तिकरणका लागि एक महिने निःशुल्क व्यूटिसियन तालिम प्रदान गरेको छ ।
कामपाले स्वरोजगार कार्यक्रमअन्तर्गत सक्षम नारी नेपाल सामाजिक संस्थासँग समन्वय गरी तालिम सम्पन्न गरेको हो ।
सौन्दर्यकलाका प्रारम्भिक विषयवस्तु सम्बन्धी सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान प्रदान गरिएको उक्त तालिममा ३४ प्रशिक्षार्थी सहभागी थिए ।
प्रशिक्षकका रुपमा निसा श्रेष्ठ र पूजा लामाले प्रशिक्षार्थीलाई तालिम दिनुभएको हो ।
समापन समारोहमा कामपा १४ का वडाध्यक्ष सुमन श्रेष्ठले महिला वर्गको आर्थिक पहुँच वृद्धि गर्न सकेमा सामाजिक रुपान्तरण हुने बताउँदै त्यसका लागि उनीहरूलाई आत्म निर्भर बनाउन तथा स्वावलम्बनसम्बन्धी तालीममा वडाले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ काठमाडौँका कार्यकारी सदस्य कृष्णराज गौतम, वरिष्ठ व्युटिसियन अनिता खडका रायमाझी, विष्डम विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारी, समाजसेवी सुशील भट्टराईलगायतले रोजगारी सिर्जना गर्ने उद्देश्यले महिलालाई व्यवसायिक सिपमूलक तालीम प्रदान गरेकामा आयोजक संस्थाको प्रसंशा गर्दै सामाजिक रुपान्तरणमा महिला सशक्तिकरणको महत्वपूर्ण भूमिका रहको बताउनुभयो ।
सक्षम नारी नेपालका अध्यक्ष गोमा बिडारीले सिपमूलक तथा व्यवसायिक तालीमका माध्यमबाट महिलाको आय आर्जनमा सहयोग पुग्ने विचार व्यक्त
गर्नुभयो । उहाँले स्थानीय तहले संचालन गर्ने यस्ता तालीमको महत्व रहेको उल्लेख गर्नुभयो ।
प्रशिक्षकले सौन्दर्यकलाको आधुनिक तालीम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने प्रशिक्षार्थीले तालीमबाट प्राप्त गरेको ज्ञान, सिपबाट आफूहरु लाभान्वित भएकाले त्यसलाई व्यवसायिक रुपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।