जन्मिदा बित्तिकै मुखमा कपडा कोटेर मरे – अभियुक्त

१३ जेठ, काठमाडौं । भक्तपुर प्रहरीको टोली सूर्यविनायक नगरपालिका–५ घलाँतेको एउटा घरमा पुग्यो ।

त्यो घरनजिकै शिशुको शव कुहिएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले घरको करेसाबारीमा कुहिन लागेको बच्चीको शव भेटायो । कसको बच्चा हो भन्ने सोधखोज हुँदा त्यही घरमा डेरामा बस्ने रमिला राई सुत्केरी भएको खुल्यो ।

उदयपुर घर भएकी रमिला सूर्यविनायक क्षेत्रमा मजदुरी गर्थिन् । केही दिनअघि उनले छोरी जन्माएकी थिइन् ।

आफूले जन्माएकी छोरीलाई नै मारेर फालेको खुलेपछि प्रहरीले रमिलालाई पक्राउ गरेको छ । उनले बच्चाको किन हत्या गरिन् भन्ने अनुसन्धान भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीका अनुसार रमिला केही वर्षअघि काठमाडौं आएकी थिइन् ।

‘त्यसपछि उनीहरू सँगै बस्न थालेछन् । पहिला पनि एउटा छोरी जन्मेको रैछ,’ डिएसपी जोशीले भने,‘पछिल्लो समय भने रमिला र मिलनको सम्बन्ध बिग्रिएछ। उनी लकडाउन सुरू हुनुअघि नै उदयपुर गएको देखिन्छ ।

मिलन डेरा छोडेर हिँडेको बेला रमिला दुई जिउकी थिइन्। मिलन गएको केही समयपछि लकडाउन सुरू भयो । रमिलाको पेटमा सात महिनाको गर्भ थियो । सकिनसकी मजदुरी गरौंभन्दा पनि काम पाइनन् ।

लकडाउनका बेला उनले केही दिन राहतको सामानले गुजारा गरेको डिएसपी जोशीले बताए ।

केही दिनअघि रमिला आफ्नै डेरामा सुत्केरी भइन् ।

प्रहरीसँगको बयानमा उनले जन्मिनासाथ शिशुको मुखमा कपडा कोचेर मारेको बताएकी छन् ।

एउटा छोरी त पाल्न गाह्रो भएको छ, फेरि अर्को बच्चा कसरी पाल्ने बरू अहिल्यै मारिदिन्छु सोचेर मुखमा कपडा कोचिदिएँ,’ रमिलाको बयान उद्धृत गर्दै डिएसपी जोशीले भने ।

प्रहरीले शिशुको शव पोस्टमर्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पठाएको छ भने रमिलालाई हत्या अभियोगमा मुद्दा दर्ता गरेको छ ।

रमिलाका श्रीमान् मिलन अहिले पनि सम्पर्कविहीन छन् ।

हामीले उनका श्रीमानलाई पनि सम्पर्क गर्न खोजेका थियौं तर सम्पर्क हुन सकेको छैन् ।