दुबई लग्ने भनेर कुवेत पुर्‍याइयो, पालैपालो चारवटा घरमा बेचियो

सरकारले २०७२ सालदेखि नै घरेलु काममा कुवेत जान प्रतिबन्ध लगाए पनि भिजिट भिसा र अन्य कामको बहानामा लैजाने क्रम जारी छ।

दलालमार्फत् त्यसरी जानेहरूले घरेलु काममा विभिन्न दुःख झेलिरहेका छन्। त्यसैका एक प्रतिनिधि पात्र हुन् — २६ बबरमहल २६४ (परिवर्तित नाम)।

उनलाई संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा ब्युटी पार्लरको काम गर्ने र आकर्षक तलब हुने प्रलोभन देखाएर कुवेत पुर्‍याइएको थियो। भिसा, टिकट लगायतका लागि भनेर एजेन्टले एक लाख ५० हजार रूपैयाँ लिएका थिए।

उनलाई केही समय कुवेतमा बसेपछि दुबई लैजाने भनियो। तर त्यो दिन कहिल्यै आएन। बरू कुवेतमै एउटा कार्यालयमा लगेर राखियो, जहाँ उनलाई हेर्न मान्छेहरू आउँथे। हेर्दा ठिक लाग्नेले कार्यालयलाई पैसा बुझाउँथे, अनि उनलाई आफूसँग लैजान्थे।

यसरी उनलाई विभिन्न समयमा चारवटा फरक-फरक घरमा पुर्‍याइयो। ती चार घरमा आफूले झेलेको कष्ट २६ बबरमहल २६४ ले हामीसँग साटेकी छन्।

कुवेत जानुअघि उनी काठमाडौंमै ब्युटी पार्लर चलाउँथिन्। सुरूका महिना पार्लरबाट ६० हजार रूपैयाँभन्दा बढी व्यापार हुन्थ्यो। बिस्तारै पार्लरको व्यापार घट्दै गयो। पार्लर चलाएर परिवारको खर्च धान्न मुस्किल हुन थाल्यो।

त्यो बेला पार्लर आइरहने एक महिला (पेसाले वकिल) ले उनीसँग महिला उद्यमशील ऋणको कुरा गरेकी थिइन्। २६ बबरमहललाई पनि त्यो ऋण लिएर व्यवसाय विस्तार गर्ने सोच पलायो। उनले कुराकानी अघि बढाइन्।

तिनै महिलामार्फत् चिनजान भएका एक व्यक्तिले दुबई जाने प्रस्ताव ल्याए। ब्युटी पार्लरमै काम गर्ने र महिनाको ८० हजार रूपैयाँभन्दा बढी तलब पाइने जानकारी दिए।

२६ बबरमहलका लागि दुबई नौलो ठाउँ थिएन। उनी केही वर्षअघि पार्लरकै काम गर्न त्यहाँ गइसकेकी थिइन्। कमाइ राम्रो थियो। तर करिब १४ महिना बसेपछि कोभिड महामारीले काम ठप्प भयो। उनी नेपाल फर्किइन्।

फेरि पनि त्यस्तै काममा जाने प्रस्ताव आएपछि उनी तयार भइहालिन्।

‘यहाँ व्यापार नचलेर तनाव थियो। दुबई गए निश्चित तलब आइरहन्छ भन्ने भनेर मैले हुन्छ भनेँ,’ उनले भनिन्।

२०७९ कात्तिकको बेला थियो। दसैंताका उनको भिसा आयो। उनलाई कुवेतको भिजिट भिसामा तीन महिना बस्ने र त्यसपछि दुबई लग्ने भनिएको थियो।

उनले दुबई जाने तयारीमा यताको पार्लरका सामान हतार हतार बिक्री गरिन् र गाउँ पुगेर सबैसँग बिदावारी भइन्।

दुबईजस्तै कुवेत पनि उनका लागि नौलो थिएन। उनी त्यहाँको भाषा पनि धेरथोर बुझ्थिन्। केही वर्षअघि घरेलु कामका लागि कुवेत गएर तीन महिना काम गरेकी थिइन्। तलब नदिएपछि त्यहाँबाट निस्किइन् र करिब दुई वर्ष चक्लेट फ्याक्ट्रीमा काम गरिन्। कमाइ ठिकै थियो, तर भिसा अवधि सकिएपछि फर्किइन्।

‘यसपटक भने मलाई दुबई जाने भनेर झुक्याउँदै घरेलु कामकै लागि कुवेत पुर्‍याइयो,’ २६ बबरमहलले आफ्नो भोगाइ सुनाइन्।

उनलाई विमानस्थलबाट सिधै एजेन्ट कार्यालय पुर्‍याइयो, जहाँ कुवेतका घर मालिकहरू कामदार खोज्न आउँथे। उनीहरू एजेन्ट कार्यालयलाई कमिसन दिएर आफूलाई मनपरेको कामदार लैजान्थे। तिनैमध्ये एक जनाले ७८० कुवेती दिनारबापत् उनलाई आफूसँग लिएर गए।

२६ बबरमहलले उनको घरमा लगभग १० वर्षका एक बालकको हेरचाह गर्नुपर्थ्यो। ती बालक सुस्त मनस्थितिको भएजस्तो उनलाई लाग्छ।

‘मलाई उनको हेरचाह गर्न निकै गाह्रो भयो। उठाउँदा उठ्दै नउठ्ने, उठिहाले पनि दौडिएर सडकतिर पुगिहाल्ने,’ उनले भनिन्, ‘उनलाई स्कुल पनि लैजानुपर्थ्यो। केही गरी सडकमा गाडीले हान्यो भने त मलाई मार्छन् भनेर एकदमै डर भयो। अनि मैले त्यो काम गर्दिनँ भनेँ।’

करिब १५ दिनपछि उनलाई ती घर मालिकले एजेन्ट कार्यालयमै लगेर छाडिदिए।

त्यसको केही दिनमा उनलाई अर्को घर पुर्‍याइयो; जहाँ उनले खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने र कपडा धुने काम गर्नुपर्थ्यो।

‘काम ठिकै थियो। मैले त्यहाँ दुई महिना १६ दिन काम गरेँ। तर पैसा पाइनँ,’ उनले भनिन्, ‘सुरूमा त मोबाइलमा नेट पनि जोडिदिएको थियो। पछि नेट काटिदियो र आफ्नै पैसाले चला भन्यो। मैले तलब माग्दा तेरो अफिसलाई पैसा दिएर ल्याएको भन्थ्यो। दिँदै दिएन।’

तलब नपाउने भएपछि २६ बबरमहलले काम नगर्ने बताइन्। उनलाई ती घर मालिकले पनि एजेन्ट कार्यालयमै लगेर छाडिदिए।

त्यसपछि उनलाई १२ सय कतारी दिनारमा तेस्रो घर लगियो।

त्यो घरमा काम गरेबापत् महिनाको १३० कतारी दिनार (करिब ६० हजार रूपैयाँ) तलब पाउने भनिएको थियो।

तेस्रो घरमा परिवार सदस्य १४ जना थिए। चार जना स-साना बच्चा थिए। बाँकी अधवैंसे र पाका उमेरका। केटाकेटीका लागि घन्टैपिच्छे सुख्खा खानेकुरा बनाउनुपर्थ्यो।

उनले त्यहाँ एक साता काम गरिन्। त्यसपछि घरका मान्छेले नै काम गर्न नसकेको भनेर कार्यालय फर्काइदिए।

‘भान्सामा उभिएर पकाएको पकायै गर्नुपर्ने। त्यो घरका मान्छेले मेरो बच्चाका लागि ड्राइफुड बनाएको बनायै गर्नुपर्छ, यसले काम गर्न सकेन। मेरो बच्चाजस्तै लाग्यो भनेर फिर्ता लगिदियो,’ उनले भनिन्।

उनले काम गरेको चौथो घरमा पाँच जनाको परिवार थियो। मंगलबार, बिहीबार र शुक्रबार छोरी, ज्वाइँ, नाति-नातिना गरी पाहुनाहरू टन्नै आउँथे। लगभग ५० जना भेला हुन्थे र रमाइलो गर्थे। २६ बबरमहलले ती सबैका लागि खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने काम गर्नुपर्थ्यो। घरकी बुहारीले केही सहयोग गर्थिन्। तर उनी धेरैजसो माइत गइरहने हुँदा अधिकांश काम २६ बबरमहलकै जिम्मामा आउँथ्यो।

‘शुक्रबार र मंगलबार त सधैं माइत जान्थिन्,’ उनले भनिन्, ‘ती दिन सबै काम मैले गर्नुपर्थ्यो। सहयोग गर्ने कोही हुन्थेन। बिहान ६ बजे उठेदेखि मध्यरात १२ बजेसम्म फुर्सत पाइन्थेन। कहिलेकाहीँ काम सकेर सुत्दा एक-दुई नै बज्थ्यो। बाहिर कतै हिँडडुल गर्न पनि पाइन्थेन। घरमै बन्दीजस्तो बस्नुपर्थ्यो। त्यसमाथि तलब पनि दिएको थिएन।’

त्यो घरमा एक बूढीआमा थिइन्, जसले २६ बबरमहललाई खुब माया गर्थिन्। मायाले उनको नामै आफ्ना बालबच्चासँग मिल्दोजुल्दो राखिदिएकी थिइन्।

‘मेरो नाम अमिना राखिदिएका थिए। त्यहाँका केटाकेटीको नाम अब्दुल्लाह, आहात यस्तै थियो,’ उनले सम्झँदै भनिन्, ‘राति काम सकेपछि सधैंजसो दूध पिउन दिन्थिन्।’

एक रात २६ बबरमहल काम सकेर सुत्ने तयारीमा थिइन्। सधैंझै आमाले उनलाई थर्मसको दूध पिएर सुत्न भनिन्।

उनले थर्मसको दूध गिलासमा राख्दा एकदमै फिँज आयो। आमाले ‘फिँज निकालेर खा’ भनिन्। उनले त्यसै गरिन्।

‘दूध आधा पनि भएको थिएन, मलाई बेस्सरी निन्द्रा लागेजस्तो भयो। अनि एकै घुट्कोमा स्वाँट्ट पारेर सुत्न गएँ,’ उनले भनिन्, ‘त्यसपछि त तीन दिन उठ्नै सकिनँ। शरीर कमजोर भएजस्तो लाग्यो। आँखा पनि नखुल्ने, बोल्न खोज्दा आवाज पनि नआउने भयो।’

हामीसँग कुरा गरिरहँदा पनि उनको आवाज प्रस्ट थिएन।

‘मलाई त बुहारीले दूधमा विष हालिदिएको हो कि जस्तो लाग्छ। मलाई घरमा अरू सबैले माया गर्थे, उनले चाहिँ मन पराउँथिन। रिस गर्थिन्,’ उनले भनिन्, ‘त्यो घटना भएकै दिन मैले तलबको कुरा झिकेकी थिएँ। बूढीआमाका छोराले आफ्नो तलब आउनेबित्तिकै दिने बताएका थिए। तर तलब थाप्न नपाउँदै त्यस्तो घटना भयो।’

त्यसपछि २६ बबरमहललाई त्यहाँ बसिरहन मन लागेन। उनले भाग्ने निधो गरिन्।

उनका एक जना चिनजानका साथी कुवेतमै थिए। उनले ती साथीलाई मेसेज पठाइन्।

दिउँसोको समय थियो। उनले लुगाफाटो झोलामा हालिन्। कागजपत्र जम्मै घर मालिकसँगै थियो। उनी कागजपत्र छाडेर यसै निस्किइन्।

‘उनीहरूलाई भन्यो भने निस्किन सम्भवै थिएन। त्यसैले घरका मान्छे मिटिङ हलमा व्यस्त रहेका बेला फुत्त निस्किएर ट्याक्सी चढेँ,’ उनले भनिन्।

उनी केही दिन साथीकी दिदीको घरमा बसिन्। उनलाई अब कुवेतमा बसिरहन मन लागेन। एजेन्टको कार्यालय गए फेरि अर्को घर लगिन्छ भन्ने थाहा थियो। नेपाल जाँदा सजिलो हुन्छ भनेर ती साथीले नै उनलाई १९० कतारी दिनार दिएका थिए।

उनी त्यहाँबाट उम्किएर गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको सम्पर्कमा पुगिन्। त्यसपछि कुवेतस्थित नेपाली दूतावासबाट एकतर्फी ट्राभल डकुमेन्ट बनाएर काठमाडौं फर्किइन्।

गत जेठमा फर्किएकी २६ बबरमहलको उजुरीका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई झुक्याएर कुवेत पुर्‍याउने व्यक्ति पक्राउ गरेको छ। बाराको निजगढ नगरपालिका-१ घर भई ललितपुरको टिकाथली बस्ने गणेशबहादुर कटुवाललाई ब्युरो टोलीले यही चैत २ गते पक्राउ गरेको हो।

कटुवालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

उनैले २६ बबरमहलबाट भिसा लगायत प्रक्रियाका लागि एक लाख ५० हजार रूपैयाँ लिएको ब्युरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए।

‘उहाँले दूध पिएपछि स्वरसमेत प्रस्ट नआएको भन्नुभएको छ। त्यसमा विष मिसाइएको आशंका पनि उहाँको छ। तर विष नै खुवाइएको हो कि होइन भन्ने खुलिसकेको छैन,’ उनले भने।

अहिले २६ बबरमहलको उपचार भइरहेको ब्युरोले जनाएको छ। सुरूमा ब्युरो आउँदाको तुलनामा अहिले उनको आवाजमा सुधार भएको अधिकारीहरूले बताएका छन्।

यो घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको पनि ब्युरोले जनाएको छ।

सेतोपाटीबाट