नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा बैनबहादुर कार्की निर्वाचित

१४ चैत, पोखरा । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर कार्की निर्वाचित भएका छन् । उनले पृथ्वीसुब्बा गुरुङ समूहका माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै खगराज अधिकारी समूहका कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैनबहादुरले ५५१ मत ल्याउँदा बास्तोलाले ३४७ मत पाए । कुनै पनि गुटमा सामेल नभएका विवेक त्रिपाठीले १७ मत पाए । सबै पाँच जना पदाधिकारी खगराज समूहकाले नै जितेका छन् ।

उपाध्यक्षमा खगराज समूहका भेषराज बरालले ५२७ मत पाएर विजयी हुँदा पृथ्वीसुब्बा समूहका शिव आचार्यले ३८८ मत पाए ।

सचिवमा खगराज समूहका दर्शन लामा ५९७ मत ल्याएर विजयी भए भने पृथ्वीसुब्बा समूहका सुरेन्द्र गुरुङले ३२० मत प्राप्त गरेका हुन् ।

उपसचिवमा लालबहादुर परियार ५८१ र सन्तु सुवेदी ५१० मत ल्याएर निर्वाचित भए । पृथ्वीसुब्बा समूहबाट उपसचिवका उम्मेदवार राधिका शाही योगीले ३४४ र सीता परियारले ३३४ मत पाए ।

सहमतिको प्रयास टुटेपछि खगराज र पृथ्वीसुब्बा समूहले बेग्लाबेग्लै भेला गरेर आआफ्नो समूहलाई जिताउन निर्देशन नै दिएका थिए ।

पृथ्वीसुब्बा समूहको नेतृत्व केन्द्रीय सदस्य जगत विश्वकर्मा र एमाले कास्कीका निवर्तमान अध्यक्ष मनबहादुर गुरुङलगायतले गरेका थिए भने खगराज समूहबाट केन्द्रीय सदस्य कृष्ण थापा र राजीव पहारीलगायतले गरेका थिए ।

२०७४ सालयता कास्कीमा पृथ्वीसुब्बा र खगराज समूहबाट प्रतिष्ठाको लडाइँ बन्दै आएको छ ।

यो अधिवेशनले १२० सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । अब थप १० प्रतिशत अर्थात १२ जना मनोनित हुनेछन् भने थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४४ सदस्यीय कमिटी बन्ने छ ।