पर्वत र म्याग्दीमा असिना पानीले हिउँदे बाली र फलफुल खेतिमा क्षती

जलजला, पर्बत ।बिगत केही महिनादेखि आकाशबाट पानी नपरेपछि पर्वतको जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट ,सालिजा लगायत क्षेत्रमा किसानहरुमा निरासा छाएको बेला हिजो एकाएक पानी वर्षासँगै  भारी असिना पानीले बालीनालीमा क्षती पुर्याएको छ ।
सोमबार साँझ परेको असिना पानीले जलजला-१ बाँसखर्कमा भर्खरै फुलेको सुन्तलाको फुल झारेर नष्ट पारेको छ । त्यसैगरी लेखफाट र सालिजामा हिउंदे आलु, जौ र पाक्न लागेको गहुँमा क्षती पुर्याएको छ। उता म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ ।
त्यसैगरी असिना पानीले केराखेतीमा पनि असर गरेको कृषकको भनाइ छ । मालिका , मंगला , बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाका केही क्षेत्रमा पनि असिना पानी परिरहेको छ । खेतमा लगाएको बाली नष्ट भएपछि म्याग्दीका किसान चिन्तित छन् ।