मधेसमा किन तीन दिन मनाइन्छ होली ?

काठमाडौँ । सरकारी क्यालेन्डर अनुसार फागु पर्व अर्थात् होली यस वर्ष पहाडमा आइतबार र तराई–मधेसमा सोमबार मनाइन्छ । सरकारले त्यही अनुसार पहाडी क्षेत्रमा आइतबार र मधेसमा सोमबार बिदा दिएको छ ।

केही वर्षदेखि मधेसमा आफ्नो सुविधा अनुसार पर्व मनाइरहेका छन् । यसपाली मधेसमा सोमबार, मंगलबार, बुधबार पनि होली मनाइने भएको छ । त्यसैले कतिपय पालिकाले होलीका अवसरमा भन्दै एक सातासम्म विद्यालयमा बिदा दिएका छन् ।
संस्कृतिविद् रोशन जनकपुरी भन्छन्, ‘मधेसमा केही वर्ष यता मानिसहरूले आफ्नो सुविधा अनुसार होली मनाउन थालेका

छन् । संस्कृति, परम्पराप्रतिको चेतनाको कमीले यस्तो भएको हो ।’

उनका अनुसार कसैले आफ्नो व्यापार अनुसार होली मनाउने गरेका छन्, कसैलाई माछामासु खानु छ भने त्यो अनुसार होली मनाउँछन् भने कसैले परम्परा अनुसार मनाउँछन् ।

संस्कृतिविद् जनकपुरीले भने, ‘पहाडमा पूर्णिमाको दिन होली मनाउँछन् भने त्यसको भोलिपल्ट मधेसमा होली मनाउने चलन छ तर पछिल्लो समय त्यो सेड्युल भत्किएको छ ।’

मधेसमा धेरै ठाउँमा सोमबार होली मनाइँदै छ भने जनकपुर र त्यस आसपास मंगलबार र बुधबार पनि होली मनाउने देखिएको छ । सोमबार र मंगलबार माछामासु नखाने व्यक्तिहरूले बुधबार होली मनाउने योजना बनाएका छन् ।

यद्यपि यसपटक मधेसका अधिकांशले मंगलबार नै होली मनाउने जनकपुरीले बताए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पनि जनकपुरमा मंगलबार नै होली मनाउने बताए ।

मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले अब होली संस्कृति परम्पराभन्दा पनि खानपानमा सीमित भएको टिप्पणी
गरे । उनले भने, ‘होलीको परम्परा समाप्त भइसकेको छ, यो खानपानमा सीमित भएको छ, जुन चिन्ताको विषय हो ।’

मधेसमा १५ दिने परिक्रमाको आधारमा होली मनाउने चलन छ । पूर्णिमाको एक दिन पहिले परिक्रमा जनकपुर आइपुग्छ, त्यो दिन अन्तरगृह परिक्रमा हुन्छ र त्यसको भोलिपल्ट मात्र होली खेल्ने चलन रहेको कापडीले बताए । परिक्रमाको आधारमा होली खेल्ने चलन परम्परादेखि चल्दै आएको हो, चाहे जुनसुकै दिन, जुनसुकै मिति किन नहोस्, परिक्रमा फर्केको पर्सिपल्ट होली मनाउने चलन रहेको उनको भनाइ छ ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला र जनकपुरको रत्नसागर तथा अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको सुरुवात हुन्छ । नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १२० किलोमिटर दूरी परिक्रमा गरेर आइतबार व्रतालुहरू जनकपुर आइपुग्दै छन् । सोमबार अन्तरगृह परिक्रमा भएपछि मंगलबार होली मनाउनु पर्ने हो तर मंगलवार पनि माछा मासु नखाने, व्रत बस्नेहरूले बुधबार होली मनाउने भन्ने सुनिएको अध्यक्ष कापडीले बताए ।

हरेक कुरालाई मान्छेले आफ्नो सुविधा अनुसार प्रयोग गर्न थालेको टिप्पणी गर्दै उनले यसले गर्दा तराई मधेसका परम्परा हराउँदै गएको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीका अनुसार जनकपुरमा होलीका बारेमा धेरै अन्योल छ । उनले भने, ‘म व्यक्तिगत रूपमा भने क्लियर छु । पहाडमा फागु होलिका दहनका दिन मनाइन्छ भने मधेसमा भोलिपल्ट ।’

मासु खानेहरूका लागि त ३६५ दिन नै खुला रहेको टिप्पणी गर्दै उनले भने, ‘चाडपर्व भनेको एउटा पहिचान हो र त्यसलाई जगेर्ना गर्नु सबैको कर्तव्य पनि हो, यसको मतलब यो होइन कि चाडपर्वको नाममा जे मन लाग्यो त्यही गर्ने ।’

जानकी मन्दिरका महन्थ रामरोशन दासले मधेसमा मंगलबार होली मनाउन अपिल गरेका छन् । उनले भने, ‘यसमा कुनै विवाद नै छैन, आइतबार परिक्रमा जनकपुर आइपुग्छ, सोमबार अन्तरगृह परिक्रमा गरेपछि मंगलबार होली मनाइन्छ ।’

उनका अनुसार होली माछामासु खाने पर्व होइन । यो पर्वमा खीर, पुरी, पुवालगायत अन्य मिष्ठान्न खाने चलन रहेको उनले
बताए । होलीमा माछुमासु, रक्सी खाने चलन जबर्जस्ती ल्याइएको भन्दै उनले यसैका आधारमा होलीको परम्परालाई बिगार्ने खेल भइरहेको आरोप लगाए ।

मंगलबार माछामासु खान हुँदैन भनेर होलीलाई बुधबार सार्ने तर्क नै कुतर्क रहेको उनले बताए । यसमा आफूले केही टिप्पणी नगर्ने उनको भनाइ छ ।

रातोपाटीबाट