एमालेले इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङ र बझाङ (१) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय

११ चैत, काठमाडौं । राजनीतिक दलहरु आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको तयारीमा जुटेका छन् । नेकपा एमालेले उपनिर्वाचन हुने दुवै क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ ।

आइतबार बसेको सचिवालय बैठकले इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङ र बझाङ (१) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार बनाएका सुहाङ, नेम्वाङकै कान्छा छोरा हुन् ।

बझाङ–१ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत ५ असारमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । त्यहाँ एमालेले उम्मेदवार बनाएका भण्डारी, पार्टीको बझाङ जिल्ला अध्यक्ष हुन् ।