Breaking News

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पक्राउ

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पक्राउ गरिएको छ । उनलाई भारतको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले पक्राउ गरेको छ।

भारतीय समाचार संस्था द हिन्दुका अनुसार बिहीबार साँझ इडीको टोलीले मुख्यमन्त्री निवासमा छापा मारेको केही घण्टापछि केजरीवाललाई पक्राउ गरेको हो।

आम आदमी पार्टीकी नेता अतिशीले केजरीवाललाई इडीले पक्राउ गरेको बताएकी छन्।

केजरीवाल सरकारले ल्याएको मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै उनलाई सुरूमा दुई घण्टा सोधपुछ गरिएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको थियो।

पक्राउ गरेको विरूद्ध भारतको सर्वोच्च अदालतमा रिट समेत दर्ता भइसकेको छ। यसको सुनुवाई शुक्रबार बिहान हुने भनिएको छ।

यस मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, कारोबारी विजय नायर, अभिषेक बोइनपल्ली र आमआदमी पार्टीका राज्यसभा सांसद संजय सिंह पक्राउ परेका छन्।

आम आदमी पार्टीका नेताहरूले मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएका छन्।

भारतमा यसरी बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो दोस्रो घटना हो। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका थिए।

दिल्ली सरकारले सन् २०२१ नोभेम्बर १७ मा मदिरा सम्बन्धी नीति लागु गरेको थियो।

यस नीति अन्तर्गत राजधानीमा ३२ वटा जोन बनाइएको थियो। हरेक जोनमा धेरैमा २७ वटा मदिरा पसल खोल्ने भनिएको थियो। यसरी कूल ८४९ पसल खोल्ने भनिएको थियो।

नयाँ मदिरा नीतिले दिल्लीका सबै मदिरा पसललाई प्राइभेट बनाइएको थियो। त्यसअघि ६० प्रतिशत पसलहरू सरकारी र ४० प्रतिशत निजी रहेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। नयाँ नीति लागु भएपछि शतप्रतिशत मदिरा पसलहरू निजी भए। जसपछि ३५०० करोड रुपैयाँ सरकारलाई फाइदा भएको दाबी गरिएको थियो।

तर दिल्लीका मुख्यसचिव नरेश कुमारले यस नीतिमा घोटाला भएको भन्दै उजुरी दिएका थिए। जसमा उपमुख्यमन्त्री रहेका मनीष सिसोदियाले यसमा अनुचित लाभ लिएको आरोप थियो। त्यतिबेला यसमा सिबिआईले अनुसन्धान गर्नुपर्ने माग गरिएको थियो।

विवाद बढेपछि सन् २०२२ जुलाइ २८ मा नयाँ नीतिलाई रद्द गरी पुरानैलाई लागु गरेको थियो। अगष्ट १७ मा सिबिआईले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।

यसमा आरोपी सिसोदियासहित केहीलाई पक्राउ गरिएको थियो। इडीले मुख्यमन्त्री केजरीवाललाई पटकपटक कार्यालयमा हाजिर हुन पत्र लेखेको एनडिटिभीले जनाएको छ। तर उनी हाजिर भएका थिएनन्। इडीले ९ पटकसम्म पत्र पठाएको समाचारमा उल्लेख छ।