Breaking News

दुई मोटरसाईकल एक आफसमा ठोकिदा सवार दुबै जनाको मृत्यु

११ जेठ, काठमाण्डौ । कोरोना लकडाउन भएको अवस्थामा काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

स्थानीय मनोज दुलाल र पासाङ तामाङको मृत्यु भएको र दुवै मोटरसाइकल चालक रहेको प्रहरीले बताएको छ ।

बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रासस