एनआइसी एसिया बैंक जोखिममा

काठमाडौं । एनआइसी एसिया बैंकलाई जोगाउन खोज्दा डेपुटी गभर्नर निलम ढुंगानाको अधिकार खोसिएको छ । योग्यता र क्षमताले भन्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा डेपुटी गभर्नर बनेकी ढुंगानाले एनआइसी एसिया बैंकलाई जोगाउन खोजेपछि गभर्नर महाप्रसाद अधिकारीले अधिकार खोसेका हुन् ।

एनआइसी बैंकलाई जोगाउन भूमिका खेलेपछि राष्ट्रबैंककै बदनाम हुने स्थितिमा फागुन १० उनको जिम्मेवारी खोसिएको स्रोतले बताएको छ । ढुंगानाले सम्हाल्दै आएको बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी खोसेर अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएका छन् । हाल सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक देवकुमार ढकाल छन् ।

एनआईसी एसिया बैंकविरुद्ध राष्ट्रबैंकमा दर्जनौँ उजुरी रहेका छन् । ती उजुरीमाथि आवश्यक कारबाही गर्नुपर्नेमा ढुंगानाले उन्मुक्ति दिँदै आएकी थिएन । गम्भीर विषयमा समेत ढुंगानाले अवरोध पु¥याएको बताइएको छ ।

ढकालले एनआइसी बैंकलाई कारबाही गर्न खोज्दा ढुंगानाले नमानेपछि जिम्मेवारी खोसिएको राष्ट्रबैंक स्रोतले जनाएको छ । उनलाई कारबाही स्वरुप जिम्मेवारी खोसिएको बताइएको छ । सुपरिवेक्षण विभाग राष्ट्रबैंकको सबैभन्दा आकर्षक र शक्तिशाली विभाग हो ।

बदमासी गर्ने बैंकलाई कारबाही गर्न नदिएपछि ढुंगानालाई जिम्मेवारीबाट हटाउनुपर्ने भन्दै ढकालसहितले प्रयास गर्दै आएका थिए । ढुंगानामा निर्णय क्षमता कमजोर रहेको बैंकका एक अधिकारीले बताए । गभर्नरमाथि नै प्रश्न उठ्ने अवस्था आएपछि ढुंगानाको जिम्मेवारी खोसिएको बताइएको छ ।

ढुंगानाको अधिकार खोसिएसँगै राष्ट्र बैंकले एनआईसी बैंकलाई कारबाहीको तयारी गरेको छ । एनआइसी बैंकको सञ्चालनको जिम्मेवारी लिएर अगाडि बढ्नेबारे राष्ट्रबैंकमा छलफल भएको स्रोतले बताएको छ ।

एनआईसी एसिया बैंकले व्यापार प्रवद्र्धन गर्न ऋण दिनेभन्दा पनि सम्पत्ति हडप्ने नियतले ऋण प्रवाह गरेपछि ऋणी र बैंक डुब्ने अवस्थामा पुगेको छ । अहिले पनि हरेक दिन निस्कने पत्र–पत्रिकामा एनआईसी एसिया बैंकको धितो लिलामीको सूचना प्रकाशित हुने गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले विगतदेखि नै यस बैंकको बारेमा गहिरो अध्ययन, अनुसन्धान गरेको भए एनआईसी एसिया समस्याग्रस्त बैंक बन्ने थिएन ।

राष्ट्र बैंककै कमजोरीका कारण विगतमा मर्जरमा गएका मेगा बैंक, सेन्चुरी बैंक, सिभिल बैंक र एनसिसी बैंकले बलियो बैंकमा धमिरो लागेको छ । जसले गर्दा कतिपय राम्रा बैंकहरू पनि समस्यामा पर्दै आएका छन् ।

राष्ट्रबैंकले जनताको रकम सुरक्षित भएको विज्ञप्ती निकाल्नुपर्ने अवस्था सिर्जना भएको छ । तै पनि एनआईसी एसिया बैंकमा दिनहुँ पैसा निकाल्ने ग्राहकहरूको भीड लाग्ने गरेको छ ।

दृष्टिबाट