काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आज तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’
आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालीनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो ।
परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको जनाएका छन् ।