प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ। काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १ सय ८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो।
कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ। ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो। मिडियाका रूपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ,’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न/नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो। त्यस्तै, एकलाई भूलसुधार गर्न र एक लाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चार माध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
सेतोपाटीबाट