१२ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् ।
प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।
सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ ।
‘चोरी गर्ने योजना अनुरुप नै प्रसूति गृह गएको हो कि जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फर्किएर आउँदा निकैपरसम्म दिदी पनि लिन गएकाले उनी यसबारे जानकार हुनसक्ने देखिन्छ ।’
प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ ।
शिशुलाई भने मध्यराति नै आफ्नो बुबाको जिम्मा लगाइएको छ । ‘स्वास्थ्यको विषय पनि हुन्छ, त्यसैले शिशुलाई परिवारको जिम्मा लगाइसक्यौं’, एक अधिकृतले भने ।