प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरेको र अध्ययनकै क्रममा रहेको बताएका छन्।
शनिबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका हुन् ।
अध्ययनपछि त्यसबारेमा निर्णय गरिने बताउँदै प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिपक्षी दलले राजनीतिक संस्कार देखाउनुपर्ने बताए।
‘आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,’ उनले भने।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।