११ फागुन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छिन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन् ।
त्यस्तै उद्घाटन समारोहमा केपी ओली कप लेखिएको व्यानर ड्रोनको सहायतामा उडाइएको थियो ।
प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
युवा संघ नेपालले आयोजना गरेको र फागुन १९ सम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित १० टोली सहभागी छन् । दुई भारतीय क्लब दिल्ली एफसी र मानेभञ्ज्याङले पनि यस पटक केपी ओली कप खेल्दैछन् ।
चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब, एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसी छन् ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।