Breaking News

सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति रुख कटान गर्दा भ्रष्टाचार गरेको दाबीसहित मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कपिलवस्तुको क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित यादवलाई पनि प्रतिवादी बनाइएको छ ।

उनी गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हुन् । १९ लाख १२ हजार एक सय ९३ रुपैयाँबराबरको काठ वास्तविक रूपमा काटेकोभन्दा कम परिमाण देखाई हिनामिना गरेको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैंया नोक्सानी भएको अख्तियारको दावी छ ।

अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जी।सी। विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

आठ सयवटा रुख काट्ने क्रममा करिव १९ हजार क्यूफिटको बन पैदावस कम संकलन भएको अख्तियारको आरोप छ ।