काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोलि बिहानबाट सुरु हुने महासमिति बैठकमा सबै प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ ।
महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्ताव सच्याउन निर्देशन दिएका देउवाले त्यसबारे के भइरहेको छ भनेर सोधखोज र छलफल गर्न बैठक बोलाएको नेता विश्वकर्माको भनाइ छ । महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय रहेकाले उक्त विषयबारे अहिले नै निर्णय गर्न नहुनेमा सभापति देउवा छन् ।
महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा पनि सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने नगर्ने विषय अहिले नै निर्णय गर्न उपयुक्त नहुने धारणा राखेका थिए । तर महामन्त्री गगन थापा भने कांग्रेस महासमिति बैठकबाटै आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने निर्णय गरेर जानुपर्ने पक्षमा छन् । उनले फागुन ३ गते केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावमा पनि सोही कुरा समेटिएको छ ।
महामन्त्री थापाले भने चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन तर आफू उक्त विषय सच्याउन तयार नभएको बताउँदै आएका छन् । सोही विषयमा आइतबार र सोमबार बिहान समेत नेताहरूबिच छलफल भएको थियो । तर दुवै पक्ष अडानबाट टसको मस नभएपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।