चितवनका किसानले सडकमा दूध पोखेर विरोध

दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि पैसा महिनौँसम्म नपाएपछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारी आबद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दूध पोखेर विरोध जनाइएको हो ।

संघका अध्यक्ष किशोर बगालेका अनुसार किसानहरूले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेको बताए । जिल्ला प्रशासन कार्यालय चितवनमा प्ले कार्ड प्रदर्शन र नारा–जुलुससहित गएको समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत केन्द्रीय बसपार्कमा दूध पोखेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड रुपैयाँ भुक्तानी पाएका छैनन् ।

चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ। अधिकारीका अनुसार बक्यौता माग्दा दूध उद्योगले खरिद गर्न मान्दैनन् । चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी नपाएका उनले
बताए । उनले भने, ‘सहकारीले बाध्य भएर दूध संकलन गर्न छाड्ने अवस्था आएको छ ।’

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)सहित देशभरिका प्रायः निजी डेरी उद्योगले चितवनबाट दूध खरिद गर्दै आएका छन् ।