Breaking News

समाजवादी मोर्चाको निर्णय जनपरिचालनसहित प्रभावकारी जनपरिचालका कार्यक्रम ल्याउने

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले जनपरिचालनसहित प्रभावकारी जनपरिचालका कार्यक्रम ल्याउने भएको छ । आज बसेको समाजवादीको मोर्चाको बैठकले नेतृत्व परिवर्तन गर्दै प्रभावकारी ढङ्गले जनपरिचालन गर्ने निर्णय गरेको सचिवालयका सदस्य देव गुरुङले जानकारी दिए ।

आलोपालो नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार मोर्चाको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा भएकाले बैठकमा अनुपस्थित थिए ।

उपेन्द्रजी जनकपुरमा भएकाले अनुपस्थित हुनुभयो । उहाँको सहमतिमै नेतृत्व परिवर्तन भएको हो । आजको बैठकमा समग्र मोर्चाको गतिविधिबारे समीक्षा भयो । प्रभावकारी ढङ्गले जनपरिचालनका कार्यक्रम बनाउने जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ । उपन्द्रजीसँगै बसेर केही दिनमा सचिवालय बैठक बसेर ठोस कार्यक्रम सार्वजनिक गर्ने सहमति भएको छ’, बैठकबारे जानकारी दिँदै गुरुङले भने । मोर्चाको गन्तव्य र ओरेन्टेसन, अन्य घटकलाई सहभागी गराउने विषयमामा आगामी दिनमा छलफल हुने उनले बताए ।

तर कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले अन्य दललाई मोर्चामा सहभागी गराउने विषयमा छलफल नभएको जिकिर गरे । बैठकमा मोर्चाले अहिलेसम्म गरेका कार्यक्रमको समीक्षा र आगामी दिनका थप योजनाबारे छलफल भएको उनले बताए ।

हामीले सहमतिमै नेतृत्व परिवर्तन गरेको हो । यसअघि पार्टीको आयतन अनुसार नेतृत्व फेर्ने कुरा भएको थियो । तर माधवजीले गर्नुभयो । आगामी बैठकको नेतृत्व विप्लवजीले गर्नुहुनेछ । त्यसपछि सहमतिमै कसले गर्ने भन्ने विषयमा छलफल हुन्छ’, उनले भने, ‘बैठकमा अन्य दललाई ल्याउने विषयमा कुनै छलफल भएको छैन । विगतमा मोर्चाले प्रभावकारी काम गर्न सकेन भन्ने कुरा भएको छ । अब दुई तीन दिनमै सचिवालयको बैठक बसेर ठोस कार्यक्रम ल्याउँछौँ ।’