३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गर्ने गरी विधान संशोधन पारित गरेको हो ।
अधिवेशन प्रतिनिधिका सुझाव सुनिसकेपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफलले तत्कालका लागि प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने निर्णयमा पुगेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हलमा जानकारी
गराए ।
उनले यो निर्णय पार्टी जीवनको महत्वपूर्ण मानक भएको भन्दै यसले पार्टीमा विद्यमान समस्या हल गर्ने बताए ।
माओवादीले केन्द्रीय समिति निर्वाचनबाट चयन गरे पनि पदाधिकारी भने केन्द्रीय समिति भित्रबाट चयन गर्नेछ । अध्यक्ष प्रचण्डले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चयन गर्नुपर्छ भन्ने बेला भइ नसकेको बताए ।