२६ माघ, काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ ।
फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।
सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियोमा देखिँदैन ।
अभिषेकलाई बोरीवली करुणा अस्पताल पुर्याइएको र उपचारको क्रममा ज्यान गएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
मृतक अभिषेक शिवसेनाको उद्धव ठाकरे गुटका पूर्व विधायक विनोद घोषालकरका छोरा हुन् । बोरीवली विधानसभा क्षेत्रमा घोषालकर परिवारको दबदबा छ । मृतक अभिषेककी पत्नी तेजस्विनी हाल पार्षद छिन् । अभिषेक भने मुम्बईको दहिसर वार्ड नम्बर १ का पूर्व नगरसेवक हुन् । उनी मुम्बई बैंकको निर्देशकसमेत हुन् ।