Breaking News

सभापति शेरबहादुर देउवाले संसदीय दलभित्र आफू असुरक्षित रहेको त्रास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलभित्र आफू असुरक्षित रहेको निकटस्थहरूसँग बताउन थालेका छन् । अघिल्लो वर्ष पुसमा भएको दलको नेता निर्वाचनमा महामन्त्री गगन थापालाई २५ मतविरुद्ध ६३ मत ल्याएर जितेका देउवा पार्टीभित्रको आफ्नै गुट मिलाउन नसक्दा पद असुरक्षित रहेको निष्कर्षमा पुगेका हुन् ।

पार्टीभित्र नेता डा. शेखर कोइरालाले नेतृत्व गरेको समूह कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्ने दाउमा छ । डा. कोइरालाको नेता फेर्ने चलखेलमा पहिला देउवाको विश्वासपात्र भनेर चिनिएका बालकृष्ण खाण पनि थपिएका कारण देउवा संकटमा परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाण देउवासँग रुष्ट छन् ।

कोइराला समूहसँग करिब ३२ जना सांसद रहेको विश्लेषण देउवाको छ । खाणले आफूसँग संस्थापन पक्षका १४ सांसद् रहेको दाबी गर्दै आएका छन् । देउवाले भने खाणले भनेजस्तो १४ नभए पनि १० सांसदलाई आफूविरुद्ध खाणले उपयोग गर्न सक्ने विश्लेषण गरेको बताइन्छ । त्यति हुँदा आफूविरुद्ध ४२ सांसद हुने र बाँकी ३ सांसद तयार गरेमा आफ्नो संसदीय दलको नेताको पद खुस्किने भय देउवामा छ ।

बासबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणमा उद्योगपति तथा कांग्रेस संस्थापन समूहका केन्द्रीय सदस्य विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेपछि देउवामा त्यो भय झन थपिएको छ । शेखर कोइराला र खाणले विनोद चौधरीलाई तपाईंको भाइलाई पुरानो मुद्दामा पक्रेर बदनाम गर्दासम्म देउवाले केही गर्न नसकेको भन्दै उचालिरहेका छन् । विनोद चौधरीले आर्थिक शक्ति प्रयोग गरेर बढीमा ५ जना सांसद प्रभावित पार्न सक्ने बुझाइ संस्थापनमा छ । देउवा यो भयले संत्रासमा रहेको उनी निकटका एक सांसदले बताए ।

देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि यही संकेत गरेको निकटस्थ स्रोत बताउँछ । अरुण चौधरी पक्राउ परेको अर्कोदिन बिहानै देउवा बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ‘नारायणकाजीले डुबाइदियो के गरेको प्रचण्डजी बर्बाद भयो’ भन्दै आफू समस्यामा परेको बताएका थिए । पार्टीभित्र आफ्नै गुटका सांसद विनोदका भाइ पक्राउ परेपछि विनोदको दबाब र डरले देउवा प्रचण्डसमक्ष पुगेको बताइन्छ ।

निकै तनाव र त्रसित मुद्रामा बालुवाटार पुगेका देउवाले अरुण पक्राउ प्रकरणले संसदीय अंकगणितमा असर पर्ने संकेत प्रचण्डलाई गरेका थिए । देउवाले प्रष्टसँग उल्लेख नगरे पनि संकेत गरेको प्रचण्डनिकट स्रोतले बतायो । कांग्रेसमा विनोद चौधरीले चलखेल गरी संसदीय दलको नेता फेर्ने खेलमा लाग्दा दलको समीकरण हेरफेर हुन सक्ने निश्चितजस्तै देखिन्छ ।

कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले आफ्नो स्प्रिरिटअनुसार काम गर्न नसकेकाले परिवर्तन गर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले गर्दा पनि आफूलाई पार्टीभित्र सन्तुलन मिलाउन गाह्रो हुने भन्दै पार्टीको महासमिति बैठकसम्म आफूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फेरबदल नगर्ने बताएका थिए ।

त्यसपछि आफू प्रधानमन्त्री भएको एक वर्षमा मन्त्रीहरू फेरबदल गर्ने बताएका प्रचण्डले त्यो काम गर्न सकेका छैनन् । प्रचण्डले आफूलाई भेट्न आउने विश्वासपात्र नेतासँग कांग्रेसबाट मन्त्री भएकाहरूले काम पनि नगरेको र अस्वाभाविक विवादमा पर्ने गरेकाले परिवर्तन गर्न खोज्दा देउवाले साथ नदिएको बताउने गरेका छन् ।

त्यतिमात्र होइन, प्रधानमन्त्रीले आफ्ना योजना र कार्यक्रमलाई सफल बनाउन असहयोग गर्ने र कतिपय सन्दर्भमा अर्थमन्त्री डा.प्रकाशशरण महत र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ठाडै विरोध गर्ने गुनासोसमेत देउवासँग गरेका थिए । प्रधानमन्त्रीले त्यति भन्दा पनि देउवाले मन्त्री परिवर्तन गर्ने अनुमति देउवाले दिएका छैनन् । प्रचण्डले काम गर्न नै गाह्रो भयो भन्दा पनि देउवा तत्काल मन्त्री परिवर्तन गर्ने सन्दर्भमा सहमत देखिएका छैनन् ।

प्रचण्डले देउवाबाट २ वर्षका लागि पठाएका मन्त्रीहरूलाई बीचमै फिर्ता बोलाउन गाह्रो हुने जवाफ पाएको सार्वजनिक रुपमै बताएका छन् । जसका कारण प्रचण्ड अहिले मन्त्रिपरिषद् हेरफेर गर्ने वा नगर्ने भन्ने अन्योल मात्र होइन, कांग्रेससँगको सहकार्य तनावमा रहेको निकटस्थसँग बताउने गरेका छन् ।

देउवा त्यो भन्दा अर्को तनाबमा त आफ्ना विश्वासपात्र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की टेरामक्स खरिद प्रकरणमा कतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा दोषी देखिने त होइनन् भन्नेमा छन् ।

टेरामक्स खरिद सन्दर्भमा बयान लिन अख्तियारले बस्नेत र कार्कीलाई खबर गरेको छ । दुवैजना अटेर गर्दै बसिरहेका छन् ।

देउवाका बलियो खम्बा कार्की र बस्नेतमाथि अख्तियार लाग्ने स्थितिमा सरकार नै अफठ्यारोमा पर्ने निश्चितजस्तै छ । देउवाका अर्का विश्वासिला खम्बा बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि आफूले केही गर्न नसक्दा आफूबाट टाढिने अवस्थामा पुगेका छन् ।

त्यसमा बस्नेत र कार्की पनि अख्तियारको मुद्दामा मुछिए आफूबाट टाढिने र आफ्नो पद धरापमा पर्ने डरमा छन् ।

देउवाले टेरामक्सको छानबिनबाट बस्नेत र कार्कीलाई कसरी बचाउने भन्ने ध्याउन्नमा रहेको निकटस्थहरू बताउँछन् । देउवाले यो सन्देश प्रचण्डलाई पनि सुनाइसकेका छन् । देउवापत्नी आरजु राणाले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेर छानबिनलाई रोक्नका लागि अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई भन्नसमेत आग्रह गरेकी छिन् ।

राणा यही माघ ८ गते ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेकी थिइन् । राणाको ओलीसँगको भेटले प्रचण्ड तर्सिएको हल्ला पनि बजारमा छ ।

बस्नेत र कार्कीमाथि अख्तियारको छानबिन तथा अरुणको पक्राउ प्रकरणले देउवामा थप त्रास बढेको छ । देउवाले प्रचण्डले आफ्ना नेता र मन्त्रीहरूलाई अप्ठ्यारोमा पारेर आफूलाई दबाबमा राखेको आरोपसमेत लगाउन थालेका छन् । देउवा अफ्टेरोमा परेको देखेपछि प्रचण्डले पनि आफ्नो पद कतै कांग्रेसका कारण जाने त होइन भन्ने तनाबमा रहेको बताइन्छ ।

दृष्टिबाट