काठमाडौं । विभिन्न देशका नोबेल शान्ती पुरस्कारका ९ जना विजेता नेपाल आउने भएका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा फागुन २७ देखि २९ सम्म सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा सहभागिता हुुन उनीहरु नेपाल आउन लागेका हुन् ।
लुम्बिनी आउनेहरुमा २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी, टिमोर लेस्टेका राष्ट्रपति जोजे रामोस ओर्टा (१९९६), जोडी विलियम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्म्यान छन् ।
त्यस्तै सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्ट्स (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल (२०१३) पनि आउने भएको लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव एवं सम्मेलनका संयोजक सुमन घिमिरेले बताए ।
उनका अनुसार शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङलगायत पनि आउने निश्चित भएको छ ।
बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको पर्यटन विकासका लागि विश्वजगतको ध्यानाकर्षण वृद्धि गर्ने उदेश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।
बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बाल बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्न लागेको संयोजक घिमिरेले बताए ।