एमाले धादिङ जिल्ला अधिवेशनमा दुई पक्षबीच कुटाकुट हुँदा अधिवेशन अन्त्य

काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो ।

कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोष हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आज बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।

माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो ।

अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।

बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निर्क्योल गर्ने विषयमा समेत अन्योल कायम रहेको अवस्था देखियो । त्यति हुँदाहुँदै पनि पटक पटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ । पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिका सवालमा जिल्ला अध्यक्षले एकलौटी गर्न खोजेपछि विवाद सुरु भएको हो ।