२० माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।
थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–०र विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा चर्च ब्वाइजलाई २(१ ले पराजित गरेर उपाधि दौडमा सामेल भएका हुन् ।
आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५–४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यतिबेला निर्धारित खेल २(२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
संयोगवश, त्यसयता दुवै टिम आहाराराको फाइनलसम्म पुग्न सकेका थिएनन् ।
आहारारामा इतिहासमा थ्रीस्टार क्लबभन्दा त्रिभुवन आर्मी अनुभवी टिम मानिन्छ । तर, हालसम्म उपाधि जित्न सकेको छैन । तर, थ्रीस्टार भने कम सहभागितामै बढी उपाधि जित्ने भाग्यमानी टिममध्ये पर्छ ।
थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जितिसकेको छ । नेपाल आर्मीको यो १५ औं सहभागिता हो । यसअघि ४ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित हुँदै घर फर्किनुपयो ।
आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेर उपविजेता बनेको छ भने थ्रीस्टार यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ मा फाइनलमा पुगेकोमा २०७४ मा बाहेक सबै फाइनलमा विजयी भएको छ ।
यसपटकको उपाधि जिते दुवैलाई आफ्नो इतिहास बनाउने अवसर छ ।