भारतबाट आउने क्रम बढ्दो सँगै कोरोना सक्रमणको त्रास पनि सँगसँगै

९ जेठ, काठमाण्डौ । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण छ भन्ने सबैको पिसिआर परीक्षण गरी नसक्दा सर्वसाधारण त्रसित बनिरहेको अवस्था छ ।

अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी कर्णाली प्रदेशमा भित्र्याउने काम तीव्रगतिमा भइरहेको छ । बिहीबार मात्र भारतको रूपडिया नाकाबाट आएका एक हजार ६७२ मध्ये दैलेखका ७२७ जना छन् । दैलेखका कोरोना सङ्क्रमित ती युवक कर्णाली प्रदेशकै पहिलो भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपूर्व सयौँ व्यक्ति दैनिक आएका छन् । त्यस्तै दिनहुँ सयौँ व्यक्तिलाई उद्धार गरी ल्याउने क्रम रोकिएको छैन । भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि हुँदा पनि सङ्क्रमण फैलिन नदिन कुनै ठोस सावधानी नअपनाइँदा सर्वसाधारणमा त्रास फैलिरहेको छ ।

कोरोना सङ्क्रमितको उपचार कहाँ र कसरी गर्ने भन्ने विषयमा ३८ घण्टासम्म छिनोफानो गर्न नसक्दा चिन्ता बढेको नेपाल बार एशोसिएसन दैलेखका अध्यक्ष माधव अधिकारीले बताए । भएका क्वारेन्टिनम पनि न्यूनतम मापदण्ड नपु(याइएका र सबै भरिभराउ छन् भने कतिपय दैलेखका ती युवकलाई सङ्क्रमण पुष्टि हुनुपूर्व नै हटाइसकेका छन् । उनले भने, “अब झन् कोरोना भुसझैँ सल्कने खतरा बढ्ने देखिन्छ । कोरोना पुष्टि भएको ३८ घण्टासम्म कहाँ उपचार गर्ने कसरी गर्ने भन्ने अन्योलमै बित्यो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल बुधबार दिनभर दैलेख आएर अन्तिममा सरस्वती माविमा निर्माण गरिएको आइसोलेशनमा उपचार गर्ने निष्कर्षसहित फर्किए । “हाम्रो सरकारको यो हालत छ । अब एक जनामा कोरोना देखिँदा त अवस्था कठिन भयो भने भोलि सयौँमा फैलिए कस्तो अवस्था आउला, समयमै होशियारपूर्वक रोकिएन के होला”, पत्रकार गोविन्द केसीले चिन्ता व्यक्त गरे ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको उपचार नभएको र प्रदेश सरकार उदासीन भएको आरोप लगाए ।

कोरोना पुष्टि भएका युवकलाई ३८ घण्टासम्म आइसोलेशनमा सुरक्षितरूपमा उपचार गराउन नसक्नु र सयौँको सङ्ख्यामा भारतबाट उद्धार गरी ल्याइएका व्यक्ति जिल्लामा अव्यवस्थितरूपमा विनास्वास्थ्य परीक्षण र भावी योजनाविनै धमाधम पठाउनु कमजोरी भएको दैलेखबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य पार्वती विसुन्केले बताए ।

जिल्लामा व्यवस्थित आइसोलेशन भएको र अहिले सङ्क्रमितको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनका अनुसार बाँकी अन्य श्यया पनि तयार हुँदैछन् । अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै प्रजिअ कट्टेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने बताए ।

सङ्क्रमित व्यक्ति भारतबाट आएका र स्थानीय क्वारेन्टाइनमा राखिएका हुँदा दिनहुँजसो जिल्लाका मान्छे धमाधम उद्धार गरी ल्याउँदा सन्त्रास बढ्नु स्वाभाविक रहेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले बताए । सबै स्थानीय तह गम्भीर भई सरकारले बनाएको मापदण्डलाई मानिदिने हो भने सङ्क्रमण फैलिनबाट रोक्न सकिने उनको बुझाइ छ ।

रासस