१६ माघ, पोखरा । पोखरामा जारी आहा गोल्डकप प्रतियोगितामा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे ।
पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको थियो ।
दिपेन्द्र बल रोक्न पछि गइरहेका थिए भने शत्रुघन बल बचाउन अघि बढिरहेका थिए । तर उनीहरुको तालमेल अभावमा चर्च ब्वाइजका समिर तामाङले बल अघि बढाउँदै पेनाल्टी बक्समा पुर्याएर खाली पोष्टमा गोल गरेका थिए।
खेलमा पहिलो हाफ गोलरहित भएको थियो । दुवै टिमले गोल गर्न पटकपटक मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।
पहिलो हाफमा चर्चब्वाइजले नेपाल पुलिसलाई दबाबमा राख्न सफल भएको थियो भने दोस्रो हाफमा पुलिस केही लय सुधारेर मैदान प्रवेश गरेको थियो । तर, गोल गर्न नसक्दा नतिजा उल्ट्याउन भने सकेन ।
पोहोर पनि क्वार्टरफाइनलमै चर्चब्वाइजसँग पुलिस पराजित भएको थियो । ६ पटकको विजेता नेपाल पुलिसलाई पराजित गरेसँगै पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्कडपको सेमिफाइनल पूरा भएको छ ।
२३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् ।
अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।