Breaking News

कालिमाटी प्रहरी वृत्तमा एक प्रहरी कोरोना पृष्टि भएपछि महालक्ष्मी नगरपालिका सिद्धिपुरअवस्थि एक घर सिल

९ जेठ, काठमाण्डौ । ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा छ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट टे«सिङमार्फत जानकारी पाएपछि स्थानीयवासीले त्रासका कारण हिजो बिहीबार सिल गरेका हुन् ।

सो घरमा आमासहित नौ मानिस बस्दै आएका छन् । उनीहरुको पिसिआर विधिद्वारा कोरोना परीक्षण नभएसम्म बाहिर कसैसँग सम्पर्क नहोस् भनी स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए । हामी उहाँहरुको कोरोना परीक्षणको नतिजा नआएसम्म आवश्यक सबै वस्तुलगायत खाद्यान्नको व्यवस्था गरिदिने छौँ । स्वाब परीक्षणको नतिजा आएपछि मात्र सो घरको सिल खोलिने मेयर श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि सिद्धिपुरमा बाहिरी जिल्लाबाट आई मानिस बसेका सूचनाका आधारमा वडा कार्यालय र स्थानीयवासी मिलेर गत बुधबार र बिहीबार चार घर बन्द गरेका थिए । ती घरमा गरिएको सिल भने हाल खोलिसकिएको छ ।

रासस