Breaking News

राष्ट्रिय सभामा दलीय समीकरण फेरियो : पहिलो दल बन्यो नेकपा माओेवादी (केन्द्र) दोस्रो काँग्रेस र तेस्रो नेकपा एमाले

काठमाडौं । आज सम्पन्न १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वानबाट सत्तागठबन्धनका १८ र एमालेबाट १ जना निर्वाचित भएसँगै राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ ।

निर्वाचनमा उम्मेदवारी दिएका ६ जनामध्ये ५ निर्वाचित भएपछि माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । गठबन्धनका तर्फबाट कोशीमा उम्मेदवारी दिएकी चम्पादेवी कार्की भने पराजित भएका छन् । गठबन्धनकै मतदाताहरूले फ्लोर क्रस गरेपछि एमालेकी रूक्मिणी कोइराला विजयी भएका हुन् ।

आजको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले १० सिट जितेको छ । त्यस्तै माओवादी केन्द्रले पाँच सिट, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाल पनि एक सिट जितेको छ । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।

अब अब राष्ट्रिय सभामा माओवादीका उपाध्यक्षबाहेक १७ जना सदस्य हुनेछन् । अहिले राष्ट्रियसभामा माओवादीका १५ जना सदस्य छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।

त्यस्तै अर्को सत्तारुढ दल कांग्रेस राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । अहिले कांग्रेसका १० सांसद छन् । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल भएको हो ।

दुई पटकको राष्ट्रियसभा निर्वाचनमा एक–एक सिट मात्र जितेको एमालेलाई भने तेस्रो ठूलो दल बनेको छ ।

एमालेका १७ जना राष्ट्रिय सभा सदस्य थिए । तीमध्ये ८ जनाको पदावधि यसपटक सकिँदैछ । एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन् । योसँगै एमाले राष्ट्रियसभामा तेस्रो दल बनेको छ।

अरू दलहरूको सांसद संख्यामा भने फेरबदल आएको छैन । नेकपा एकीकृत समाजवादीको यसअघि ८ सिट रहेकोमा अहिले पनि ८ सिट नै हुने भएको छ।

जनता समाजवादी पार्टी (जसपा) को यसअघि तीन सिट रहेकोमा यसपालि पनि तीन सिट नै छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १÷१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ ।

राष्ट्रिय सभामा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ। राष्ट्रिय सभाका ५९ सदस्यमध्ये हरेक प्रदेशबाट ८÷८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।