राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मत खस्यो आजै नतिजा आउने

११ माघ, सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मत खसेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको निर्वाचन अधिकृतले बताए । केही बेरमा मतगणना सुरु हुने र आजै नतिजा आउने बताइएको छ ।

कर्णालीमा ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी भएका थिए ।

कर्णालीमा दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।