११ माघ, काठमाडौं । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको
छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए ।
यसबारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो । पछि उक्त दावी फिर्ता लिइएको थियो ।