काठमाडौं । लुटेरा समुहले धनुषामा बन्दुक देखाएर पेट्रोलियम व्यवसायीको साढे नौ लाख लुटपाट गरेको छ । धनुषाको मिथिला नगरपालिका– ९, लालगढस्थित चित्रा आयल स्टोर्सको नौ लाख ६० हजार रुपैयाँ मंगलबार बिहान ११ बजे लुटिएको
हो ।
पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको नगद १२ किलोमिटर टाढा रहेको महोत्तरीको बर्दिवासस्थित बैंकमा जम्मा गर्न जाने क्रममा लुटेरा समूहले बन्दुक देखाएर रकम लुटेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार पूर्व–पश्चिम राजमार्गको व्यस्त सडक किनारामा मोटरसाइकलमा सवार पम्पका कर्मचारी ध्रुव बस्नेतलाई मोटरसाइकलमै आएका लुटेरा समूहले घेरा हालेर बन्दुक देखाई पैसा लुटेका हुन् ।
‘व्यस्त सडकमा दिउँसै रकम लुटिने घटना असामान्य हो। दिनदहाडै भएको डकैतीले व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना हुँदै गइरहेकोतर्फ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ प्रधानले भने ।
लुटेरा समहूको खोजी गरी कानुनी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराइदिन प्रहरीसमक्ष निवेदनसमेत दिइएको उनले जानकारी दिए ।