आहा रारा गोल्डकपमा आज विभागीय टिम त्रिभुवन आर्र्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दै

पोखरा । पोखरामा जारी २३औं आहा रारा गोल्डकपमा आज विभागीय टिम त्रिभुवन आर्र्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ ।

आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५औं सहभागिता हो भने राइजिङ स्टारको पहिलो । आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ र माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहा रारा इतिहासमा आर्मी अभागी टिम मानिन्छ । पहिलोपटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता चार पटक फाइनल पुगिसकेको छ । तर, उपाधि जित्न सकेको छैन ।

आर्मी पहिलोपटक २०६५ मा फाइनल पुगेको थियो । त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो । ०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित गरेको थियो । ०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मस्र्याङ्दीले १–० ले हरायो । ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार व्यर्होयो ।

अघिल्लो संस्करणमा आर्मी क्वार्टरफाइनलबाटै घर फर्किएको थियो । क्वार्टरफाइनलमा संकटा क्लबले आर्मीलाई ३–१ ले पराजित गरेको थियो । आर्मीलाई हराएको संकटाले २२औं संस्करणको आहा रारा उपाधिसमेत चुम्न सफल रह्यो ।

२३औं आहा राराको पहिलो खेल आयोजक सहारा र थ्रीस्टार क्लबबीच भएको थियो । जसमा आयोजक सहारालाई २(१ ले हराउँदै थ्रीस्टार क्वार्टरफाइनल पुगेको छ । थ्रीस्टारले अब माघ १३ गते आमन्त्रित भुटानी टिम पारो एफसीसँग खेल्नेछ ।