Breaking News

मधेशमा उपेन्द्र र सिकेको टकराव : मधेश प्रदेश सरकारबाट समेत बाहिरियो जनमत

काठमाडौं । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मधेस कृषि विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यासलाई लिएर जनमत असन्तुष्ट बनेको थियो ।

भवन शिलान्यासमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका नेता तथा कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी नै गरेका थिए । उपेन्द्रलाई नरोके द्वन्द्व भड्किने भन्दै सिके राउतले गृह मन्त्रालयलाई पत्र समेत पठाएका थिए ।

तर, सोमबार जनमतको अवरोधका बाबजुद उपेन्द्रले उक्त विश्वविद्यालय भवनको शिलान्यास गरेका थिए । त्यसक्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको थियो ।

झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका थिए ।

मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी छन् । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनमतले जनाएको छ । केन्द्र सरकारबारे भने केही निर्णय भएको छैन । जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।

विश्वविद्यालय सप्तरी–२ निर्वाचन क्षेत्रमा छ । सो क्षेत्रबाट २०७९ मङ्सिर ४ गते भएको संसदीय निर्वाचनमा उपेन्द्र सिके राउतसँग पराजित भएका थिए । सोही कारण उक्त क्षेत्रमा उपेन्द्र आफ्नो प्रभाव जमाउन चाहन्छन् भने सिके राउत उपेन्द्रको प्रभावमुक्त बनाउने प्रयासमा छन् ।