डाक्टर सम्बन्धी नक्कली कार्ड र डकुमेन्ट बनाएर बिरामी चेकजाँच गर्दै हिड्नै नक्कली डाक्टर पक्राउ

८ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको वेवसाइटमा एनएमसी नम्बर ९६७० राखेर खोजी गर्दा गोरखाकी एक जना एमबीबीएस डाक्टरको नाम आउँछ ।

तर, यही नम्बरको कार्ड बोकेर शम्बुद्ध भट्टाचार्यले कम्तीमा ३ वर्षदेखि बिरामी जाँचिरहेका थिए । उनीसँग त्रिवि शिक्षण अस्पताल, महराजगञ्जको कन्सल्ट्यान्ट फिजिसियन भएको कार्ड पनि छ । तर, अस्पतालमा काम कहिल्यै गरेका छैनन् ।

प्रहरीले उनको साथबाट ९ अक्टुबर २०१८ मा तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरसहितको प्रशंसा पत्र पनि बरामद गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन निर्देशक डा. ज्ञानेन्द्र गिरीले दिएको पत्र पनि भेटिएको छ ।

अनुसन्धानका क्रममा ती सबै कागजात नक्कली भएको फेला परेपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनलाई पक्राउ गरेको छ ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, आइतबार अपराह्न ४ बजे उनलाई टोखा नगरपालिका–५, बसुन्धारास्थित धौलागिरी हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरिएको हो ।

उनले नक्कली कागजात प्रयोग गरेर बिरामी जाँच गरिरहेको पाइएपछि प्रहरीले इलाज र लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक निर्मल थापाका अनुसार, उनको साथमा विश्व स्वास्थ्य संगठनको समेत नक्कली प्रमाण पत्र भेटिएको छ ।

‘जतिपनि कागजात भेटिएका छन्, ती सबै नक्कली भएको देखिएको छ’, थापाले भने, ‘त्यसको आधारमा उनले बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक र नक्सालस्थित वी केयर पोलिक्लिनिकमा बिरामी जाँचिरहेको भेटिएको छ ।’

भट्टाचार्यले धौलागिरि पोलिक्लिनिकमा ४२ र वी केयरमा ६३० जनालाई जाँचेको रेकर्ड भेटिएको उनले बताए ।

धौलागिरिमा बिरामी जाँच वापत प्रतिबिरामी उनले ५ सय रुपैयाँ लिने गरेका थिए भने वी केयरमा ७५० रुपैयाँ लिने गरेका थिए ।