Breaking News

राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

८ माघ, जनकपुरधाम। राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । जनकपुरधामसहित मधेशको घरघरमा दीपावली गरि खुसी मनाइँदै छ ।

भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् ।

यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलन गरेका हुन् ।

जानकी मन्दिर वरपर श्री सियाराम उल्लेखित भगवा रंगको झण्डाले सजाइएको छ । राममन्दिरको प्राण प्रतिष्ठालाई लिएर धनुषाको सहिदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकनन्दनी गाउँपालिकालगायत अन्य जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

सोमबार दीप प्रज्वलन गरी दिपोउत्सवको रुपमा मनाउन पालिकाहरुले आग्रह समेत गरेका छन् । बटेश्वर गाउँपालिकामा स्थानीयले अष्टजाम आयोजन गरेका छन् । त्यस अवसरमा १ हजार एक साधुसन्तको भण्डारासमेत आयोजन गरेको रामपुकार महतोले जानकारी दिए ।