७ माघ, काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ ।
तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए । बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगेका थिए । त्यसअघि अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा तीन जीवनदान पाएका थिए ।
अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नटआउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे ।
न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २-२ विकेट लिए ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।
न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए ।
एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी नै नेपालको हारको मुख्य कारण बन्यो ।
यी दुई ब्याटरबाहेक अन्यको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर टम जोनसन ४५ बलमा ५ चौकासहित ३३, ल्यूक वासटन १४ र एलेक्स थोमप्सनले १३ रन बनाए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए ।
स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १-१ विकेट लिए ।
नेपालले यसअघि सन् २००६ को यू–१९ विश्वकपमा न्युजिल्यान्डलाई १ विकेट र सन् २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।