Breaking News

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न पहिचान खुल्ने कुनै एक परिचय पत्र चाहिने

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ । उक्त निर्वाचनमा मतदाताको पहिचानका लागि निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताहरूले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कुनै प्रमाण कागजात लिएर मतदान गर्ने व्यवस्था मिलाउने सन्दर्भमा देहायका मध्ये कुनै एक परिचयपत्रको आधारमा मतदाताको पहिचान गरी मतदान गर्ने गराउने व्यवस्था मिलाउन निर्वाचन आयोगको मिति २०८०।१०।०३ को बैठकले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
(क) निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र
(ख) नेपाली नागरिकताको प्रमाणपत्र,
(ग) निर्वाचन मण्डलका सदस्यहरु प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र,
(घ) राष्ट्रिय परिचयपत्र।
यसर्थ निर्वाचक मण्डलका सम्पूर्ण सदस्यहरुलाई निर्वाचन आयोगले तोकेका उपर्युक्त मध्ये कुनै सक्कल प्रमाण पत्र लिइ मतदानमा सहभागी हुन जानकारीको लागि अनुरोध गरिन्छ ।